काठमाण्डु, ११ कात्तिक– संविधानका विवादमा सहमति खोज्ने प्रयासस्वरुप एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ ।
सिंहदरबारमा जारी बैठकमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् ।
यसअघि ओली प्रमुख तीन दलको बैठक र एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले चाड पर्वका अवसरमा सोमबार राजधानीमा गरेको चियापानमा गएका थिएनन् । उक्त विषयलाई लिएर सहमति नचाहेको र सत्ता परिवर्तन गर्न खोजेको आरोप ओलीमाथि लागेको थियो ।
बैठकमा एमालेबाट ओलीसहित नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल छन् । यस्तै एमाओवादीबाट अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
प्रमुख तीन दल बैठकअघि दलहरु गृहकार्यस्वरुप द्विपक्षीय छलफलमा जुटेका हुन् । यसअघि आइतबार काँग्रेस र एमाओवादी तथा सोमबार काँग्रेस र एमाले नेताबीच द्विपक्षीय छलफल भएको थियो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको पछिल्लोपटक थप गरिएको समयसीमा सकिनै लाग्दा दलहरुले औपचारिक र अनौपचारिक छलफललाई तीव्रता दिएका छन् ।
संविधानसभाले समितिलाई पछिल्लोपटक उपलब्ध गराएको एक साताको समय आगामी १४ कात्तिकमा सकिंदैछ ।