सडक इजाजत नभएको भन्दै जिप सञ्चालनमा रोक

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १०:५९ मा प्रकाशित

बझाङ, ११ कात्तिक – जिल्लाका ग्रामीण सडकहरूमा चल्ने साना सवारी साधन (जिप) सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

बझाङ सार्वजनिक यातायातअन्तर्गत सवारी सञ्चालन अनुमति नपाएका धुले सडकमा कानुनी प्रक्रिया नपु¥याई यातायातका साधन सञ्चालन गरेपछि प्रहरीले रोक लगाएको हो ।

जिप आवतजावत गर्न प्रशासनले रोक लगाएपछि सोमबारदेखि जिल्लाको आन्तरिक यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । जिल्लाको भोपुर–रूपातोला सडक, भाँडेबगर जयपृथ्वीनगर सडक र बागथला–बिजगडा सडकखण्ड गरी तीनवटा ग्रामीण सडकखण्डमा यातायातका साधन जिप सञ्चालनमा रोक लगाइएको छ ।

विगत तीन वर्षदेखि अवैध रूपमा जिप सञ्चालन गरी मनोमानी रूपमा भाडा लिने गरेको, समिति दर्ता नभएको, सडक अनुमति नभएको र जिपको क्षमताभन्दा बढी यात्रु लिने गरेकाले जिप सञ्चालनमा रोक लगाएको प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले बताए ।

यातायात बन्द हुँदा भोपुर–रूपातोला ग्रामीण सडकखण्डअन्तर्गतका छ गाविस, भाँडे जयपृथ्वीनगर सडकखण्डअन्तर्गत छ गाविस र बागथला–विजगडा सडकखण्डअन्तर्गत आठ गाविस गरी २० गाविसका बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएका छन् ।

बझाङ सार्वजनिक यातायात समितिले ४२ वटा जिप सञ्चालन गर्दै आएको र दैनिक चार हजारभन्दा बढीले यातायात सुविधा उपभोग गर्दै आएका थिए । जिप सञ्चालक समितिका उपाध्यक्ष नरेन्द्र खड्काले प्रहरीले समितिलाई जानकारी नदिई एक्कासि जिप सञ्चालनमा रोक लगाएको जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us