काठमाण्डु, ११ कात्तिक – अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७१ विधेयकका लागि सरकार र ट्रेड यूनियनबीच भएको सहमती नसच्याइए सशक्त संघर्षमा उत्रने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले श्रम ऐन २०७१ विधेयकका लागि भनिएको सहमतीमा रोजगारदाताले श्रमिक निष्काशन गर्न पाउने व्यवस्था, श्रम सम्मेलन गर्ने सहमती लगायतका सहमतीहरु श्रमिकको विरुद्धमा भएको भन्दै कुनै पनि हालतमा सहमती सच्याउनुपर्ने माग गरेको छ ।
कार्यक्रममा बोल्दै संयोजक रामदीप आचार्यले सरकारको खुल्ला अर्थनीतिसँगै बढेको प्रतिष्पर्धाका कारण उद्योग, कलकारखाना बन्द भएको भन्दै त्यसको दोष मजदुरलाई दिन नहुने स्पष्ट पारेका छन् ।
उनले भने–‘‘ श्रम लचकता र श्रम सम्बन्धको नाममा श्रमिकको घाँटी निमोठ्ने र पुँजीपती वर्गलाई पोस्ने काम गरिँदैछ । यो श्रम लचकता नभएर श्रमिकहरुमाथिको निरंकुशता हो । तत्काल यस्ता सहमतीहरु नसच्याईए हामी बाध्य भएर सशक्त आन्दोलनमा उत्रनेछौं ।’’
महासंघले आगामी कार्तिक १४ गते श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाउने, कार्तिक १६ गते संविधानसभा भवन अगाडी विरोध प्रर्दशन गर्ने लगायतका विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।