भक्तपुर, ११ कात्तिक – नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले दलहरुले माघ ८ मा जनविरोधी संंविधान जारी गर्ने तयारी गरेको आरोप लगाएका छन् ।
नेकपा–माओवादी भक्तपुर जिल्ला कमिटीले मङगलबार सूर्यविनायकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो संविधानलाई एमाओवादी र मधेसवादी दलले माने पनि आफ्नो पार्टीले नमान्ने बताए ।
उनले भने, “संविधान माघ ८ गते आउँछ भन्दै तीन दलले जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्, माघ ८ गतेको आश अब नगरे हुन्छ, यस्तो नाटकले संविधान बन्दैन ।”
देश विकासका लागि नयाँ आन्दोलनको आवश्यकता रहेको बताउँदै उनले शान्तिपूर्ण वार्ताबाट निकास ननिकालिए आफूहरु आन्दोलनमा जाने चेतावनी दिए ।
उनले देशको आदर्श र सपना ध्वस्त पार्दै नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाए ।