केपी ओली नआएपछि तीन दल बैठक स्थगित

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ५:२७ मा प्रकाशित

KP Oliकाठमाण्डु, १० कात्तिक– एमाले नेताहरुको अनुपस्थितिका कारण सोमबार बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ ।

पूर्वनिर्धारित समयअनुसार बैठकका लागि काँग्रेस र एमाओवादी नेता बिहान नौ बजे नै सिंहदरबार पुगेका थिए । तर एक घण्टासम्म कुर्दासमेत एमाले नेता नआएकाले बैठक बस्न नसकेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेलाई बताए ।

स्रोतका अनुसार अध्यक्ष केपी ओली हातको उपचारका लागि शिक्षण अस्पताल पुगेका थिए । बैठकको संयोजन गरेका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभाति बाबुराम भट्टराईले टेलीफोन गरी बैठकमा आउन ओलीलाई आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफू हातको उपचारका लागि अस्पताल गएकाले अरु नेता आउने जवाफ दिएर फोन राखेका थिए । ओलीपछि भट्टराईले अर्का नेता माधवकुमार नेपाललाई टेलिफोन गरी बैठकमा नआएको विषयमा सम्झाएका थिए ।

जवाफमा नेपालले आफूलाई बैठकबारे जानकारी नभएको र घाम तापेर बसेको बताए । बैठकमा काँग्रेसबाट उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र उपाध्यक्ष श्रेष्ठ बैठकस्थल पुगेका थिए ।

एमालेबाट भने अग्नि खरेल मात्र बैठकमा सहभागी हुन सिंहदरबार पुगेका थिए । संविधानका विवादमा सहमति जुटाउने प्रयासमा भट्टराईले शीर्ष नेताको बैठक बोलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us