काठमाण्डु, १० कात्तिक– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज चाड पर्वका अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दैछ ।
मोर्चाले दसैं, तिहार, नेपाल संवत ११३५, छड, इद र ल्होसार लगायत पर्वको अवसरमा काठमाण्डुको भृकुटीमण्डपमा चिपायन आयोजना गरेको हो । चियापन दिउँसो तीन बजेबाट साँझसम्म हुने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले जनाएको छ ।
चियापानमा प्रधानमन्त्री सुशील कोइरालासहित सबै राजनीतिक दलका शीर्ष नेता, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकाय तथा कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई बोलाइएको छ । यसअघि तिहारलगत्तै एमाओवादीले चियापान गर्ने गरेको थियो ।
२२ दलीय मोर्चामा एमाओवादीसहित फोरम लोकतान्त्रिक, तमलोपा, फोरम नेपाल, सदभावना पार्टी, संघीय समाजवादी पार्टी, तराई मधेस समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायत छन् ।