पछि फर्कियो एमाले, फेरि चार प्रदेशको अडान

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते २:०७ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक- सात प्रदेशका पक्षमा आइसकेको एमाले फेरि उत्तर-दक्षिणका चार प्रदेशमा फर्केको छ । एमालेले प्रक्रियामा जानुपर्ने अवस्था आए आफ्नो दल uml officeचार प्रदेशकै अडानमा रहने औपचारिक प्रस्ताव गरेको हो ।

संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउन आइतबार बसेको एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा एमालेले यस्तो प्रस्ताव गरेको अध्यक्ष केपी ओलीले सञ्चारकर्मीलाई बताए । यसअघि एमालेले सात प्रदेशमा जान सकिने बताउँदै आएको थियो ।

कांग्रेसले भने एमाओवादीसँग आइतबार नै भएको वार्तामा ६ प्रदेशमा जानुपर्ने अडान राखेको थियो । एमाओवादीले साझा पहिचानका आधारमा नामकरण गर्ने हो भने १० प्रदेशमा सहमति गर्नुपर्ने धारणा प्रस्तुत गरेको थियो ।

एमालेले पूर्वी, केन्द्र, गण्डक र कर्णाली गरी चार प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए ।  एमाले र एमाओवादीबीच शान्ति कोषको कार्यालय बबरमहलमा अपराह्न भएको बैठकमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सामान्य छलफल भए पनि संघीय संरचनामा केन्द्रित थियो ।

एमाले उपाध्यक्ष एवम् उपप्रधानमन्त्री बामदेव गौतमले उत्तर(दक्षिणका चार प्रदेशका पक्षमा रहेको आफ्नो दल जातीय आधारमा नामकरण गर्न कुनै हालतमा राजी नहुने बताए । उनका अनुसार साझा पहिचानका सात प्रदेशमा एमाओवादी सहमत भए त्यसलाई पार्टीले स्वीकार्न सक्छ । ुएमाओवादी सहमतिमा नआउने हो भने प्रक्रियामा जाँदा हामी चार प्रदेशकै पक्षमा उभिन्छौुं, उनले भने।

बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सजिलो होस् भनेर द्विपक्षीय छलफल गरिएको बताए ।

एमाले मिलाउने जिम्मा प्रधानमन्त्रीलाई

एमाले उत्तर-दक्षिणका चार प्रदेशमा फर्किएपछि एमाओवादीका नेताले सत्ता साझेदार कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर यसबारे कुरा मिलाउन आग्रह गरेका छन् ।

एमालेसँग भएको छलफलपछि एमाओवादी नेताले कोइरालालगायत कांग्रेस नेतासँग बालुवाटारमा वार्ता गरेका थिए । वार्तामा एमाओवादी अध्यक्ष दाहालले संविधानका अन्तरवस्तुमा सहमति गर्नका लागि एमालेलाई लचिलो बनाउन कोइरालासँग आग्रह गरे ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us