विदुर, ७ कात्तिक- नुवाकोटको बेलकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
मृत्यु हुनेमा एक विदेशी नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सात जनाको घटनास्थलमै र सातजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये नुवाकोट गेर्खूका १२ वर्षीया करिना श्रेष्ठ, दाङसिङ ४ का ३५ वर्षीया विमला तामाङ, ओखलढुंगाका ५४ वर्षीय बलवहादुर सुनुवार राई, नुवाकोटका १६ वर्षीय प्रशान्त न्यौपानेको मात्र सनाखत भएको छ ।
काण्डुबाट रसुवाको स्याफ्रेबेसीका लागि छुटेको बा २ ख २२६६ नम्बरको बस बेलकोट गाविस ५ ति गाउँस्थित अर्कोटे भीरबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार दर्जन बढी घाइते छन् ।
घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बसमा अधिकांश तिहार मान्न घर हिंडेकाहरु थिए । बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
घाइतेको जिल्ला अस्पताल त्रिशूली र स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते केहीलाई काठमाण्डु रेफर गरिएको छ । अप्ठेरो र घुम्ती सडकममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।