सरकारी उर्दी तोड्दै सर्वसाधारणले रातभर खेले देउसी, बत्ती पनि बालियो

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १:२५ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– सरकारको उर्दी बेवास्ता गर्दै सर्वसाधारणले रातभर देउसी भैलो खेलेका छन् ।
deusiसरकारले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने समयसीमा तोके पनि काठमाण्डु उपत्यकासहित देशभर सर्वसाधारणले रातभर देउसी भैलो खेलेका छन् ।

शान्ति सुरक्षामा खलल पुग्ने भन्दै गृह मन्त्रालयले पहिला साँझ ७ र पछि रातिनौ बजेसम्म देउसी भैलो खेल्ने समयसीमा तोकेको थियो । तर सहर बजार तथा गाउँघरमा रातभर नै देउसी भैलोको चहलपहल देखिन्थ्यो ।
देउसी भैलोमा प्रतिबन्ध लगाएर सरकारले मौलिक संस्कृतिमाथि प्रहार गरेको भन्दै सरकारी आदेशको सर्वत्र विरोध भएको थियो । जनस्तरबाट चर्को विरोध आएपछि सरकारले देउसी भैलोमा लगाएको प्रतिबन्ध कार्यान्वयन गर्न सकेन ।
यस्तै तिहारका बेला उत्सव बत्ती नमाल्न जारी गरिएको उर्दी पनि कसैले मानेनन् । काठमाण्डुसहित देशभरका सहर बजार क्षेत्रमा रातभर उत्सव बत्ती बालिएको थियो । काठमाण्डुको प्रमुख पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग क्षेत्र दुलही झैं सिंगारिएको थियो ।

लोडसेडिङका कारण सर्किट ब्रेक हुने भन्दै नेपाल विद्युत प्राधिकरणले उत्सव बत्ती नबाल्न तथा विद्युत खपत बढी हुने आइरन र रेफ्रिजेरेटर जस्ता उपकरण प्रयोग नगर्न आग्रह गर्दै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us