पर्यटन बोर्ड प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ७:१९ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ ।

subas niraulaबुधबार बसेको समितिको बैठकले करोडौंको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत निरौलालाई निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको निर्णयमा भनिएको छ- ‘सार्वजनिक खरिद कानुनको पालना नगरी खरिद गर्ने, प्रमाण र औचित्य बिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी भुक्तानी दिने, लेखाका विवरणहरु सही र यथार्थ नराख्ने लगायतका क्रियाकलापमा निरौलाको प्रत्यक्ष संलग्नता देखियो ।’

बैठकले अनियमितताबारे छानबिन गर्न गठित समिति र महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई समेत आधार बनाइ थप अनुसन्धान तथा कारवाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

निरौलाको भ्रष्टाचारको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण बिभागलाई समेत पत्राचार गर्ने निर्णय गरेको समितिका सभापति जर्नादन शर्माले जानकारी दिए ।

यसअघि निरौलालाई कारवाही गर्ने सम्बधमा कांग्रेस सभासदहरु सहमत नभएपछि गत सोमवारको बैठकले निर्णय लेख्न अलग्गै समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us