निलो पासपोर्ट मानव तस्करीमा प्रयोग, मन्त्रीका पिए तस्करी आरोपमा पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १:२८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– सरकारी अधिकृतले प्रयोग गर्ने नीलो पासपोर्ट दुरुपयोग आरोपमा सहसचिवसहितका कर्मचारी छानबिनमा तानिएका छन् ।
blue-passportअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव सुनीलकुमार कर्णलगायतका अधिकारीमाथि छानबिन थालेको हो । कर्मचारीमाथि मानव तस्करीमा सहयोग गरेको आरोपमा अख्तियारले छानबिन थालेको हो । गैरसरकारी संस्थाको आवरणमा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशमा मानव तस्करी गर्दै आएका श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि उच्च तहका निजामती कर्मचारीहरूको संलग्नता भेटिएको थियो । पाण्डेलाई हाल अख्यियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
छानबिनमा तानिएकाहरूमा हाल सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कर्णसहित उपसचिव विनोद खनाल, शाखा अधिकृत नारायण खतिवडालगायत करिब १२ कर्मचारी छन् । अधिकृत खतिवडा सहरी विकासमन्त्री नारायण खड्काका पिए हुन् ।
त्यस्तै, ठोस फोहोर व्यवस्थापन प्राविधिक सहायता केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्यलगायतका कर्मचारीमाथि पनि छानबिन थालिएको अख्तियार स्रोत बताउँछ । दुई महिनाअघि पक्राउ परेका पाण्डेले सेमिनारका नाममा सरकारी कर्मचारीसँगै सर्वसाधारणलाई विभिन्न देशमा पठाएर लाखौँ असुल्ने गरेको अनुसन्धानमा खुलेपछि कर्मचारीहरू छानबिनमा तानिएको प्रहरी स्रोतको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us