काठमाण्डु, ४ कात्तिक– नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै खराब विमानस्थलको सूचीमा परेको छ ।
‘स्लिपिङ इन एयरपोर्ट’ नामक वेबसाइटले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल विश्वका खराब विमानस्थलको सूचीमा तेश्रो नम्बरमा छ । यस्तै एसियाको खराब विमानस्थलको दोश्रो नम्बरमा छ ।
नेपाल आएर फर्किएका विदेशी पर्यटकलाई उद्धृत गर्दै प्रतिवेदनमा त्रिभुवन विमानस्थल बस स्टेसनभन्दा पनि खराब रहेको उल्लेख छ । विमानस्थलमा यात्रुले प्रयोग गर्ने बाथरुम निकै फोहोर हुनुका साथै शौच गरेपछि हात धुने साबुनसमेत नपाइने गरेको गुनासो पर्यटकको छ ।
खराब विमानस्थलको पहिलो र दोश्रो नम्बरमा क्रमश: पाकिस्तानको इश्लामावादस्थित बेनजिर भुट्टो विमानस्थल र साउदी अरेबियाको जेद्दा विमानस्थल छन् । एक वर्षअघि खराब विमानस्थलको पहिलो सूचीमा रहेको फिलिपिन्सको मनिला एयरपोर्ट यो वर्ष चौथो स्थानमा परेको छ ।
उत्कृष्ट विमानस्थलको पहिलो सूचीमा भने सिंगापुरको चाङ्गी विमानस्थल परेको । यसअघि पनि सोही विमानस्थल उत्कृष्टको पहिलो सूचीमा थियो ।
यस्तै उत्कृष्टको दोश्रो नम्बरमा दक्षिण कोरियाको इन्चोन विमानस्थल, तेश्रोमा फिनल्याण्डको हेल्सिन्की विमानस्थल, चौथोमा जर्मनीको म्युनिख विमानस्थल र पाचौंमा क्यानडाको भ्यानकोभर विमानस्थल छन् ।