काठमाण्डु, ४ कात्तिक– तपाइँले पिउने घरेलु रक्सी कस्तो छ ? कस्तो कच्चा पदार्थबाट बन्छ ?
राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ । सडेका प्लास्टिक, चप्पल, ठस्ठस्सी गन्हाउने मोजा, फोहोर कपडा र अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भू, नागरिक न्यायिक उपभोक्ता मञ्च र करदाता सेवा कार्यालय कलंकीले सोमबार राजधानीका विभिन्न तीन स्थानमा छापा मार्दा मान्छेको ज्यानै जाने खालका गुणस्तरहीन रक्सी बनाउने गरेको फेला पर्यो ।
टोलीले इचंगुनारायण–४ स्थित प्रेम मगर र कविता मगरले सञ्चालन गर्दै आएको रक्सीभट्टीमा छापा मार्दा सडेका प्लास्टिक, चप्पल, मोजा, फोहोर कपडा, कास्टिक सोडा, युरिया मललगायतका पदार्थबाट रक्सी बनाएको फेला परेको छ। ‘पारिवारका सदस्यका लागि बनाइएको भनिए पनि प्रक्रिया र परिमाण हेर्दा बाहिरका पसललाई बिक्री गर्न बनाइएको देखियो,’ करदाता सेवा कार्यालयका निमित्त प्रमुख कर अधिकृत पूर्णबहादुर बरामले भने, ‘यस्ता रक्सी सेवन गर्दा सर्वसाधारणको ज्यान जाने सम्भावना छ ।’