सुजाताले महासमिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध हस्ताक्षर अभियान चलाउने भएकी छन् । अनुशासनको कारवाही सिफारिसमा परेकी कोइरालासहितका नेताहरुले महासमिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने भएका हुन् ।

Sujata-Koiralaपार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको, गिरिजाप्रसाद कोइरालाका अनुयायीहरुलाई छानी छानी सिध्याउन लागिएको र प्रधानमन्त्री कोइरालाले सरकार सञ्चालन गर्न नसकेको भन्दै आवश्यक छलफल गर्न महासमिति बैठक माग गर्न लागिएको हो ।

कांग्रेस विधानमा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति मानिन्छ । विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने भए पनि चार वर्षमा एकपटक मात्र महासमिति बैठक बसेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद सुजाता कोइरालाले महासमिति बैठक बस्नु आवश्यक रहे पनि आफूले अहिलेसम्म बैठक बोलाउनका लागि हस्ताक्षर संकलन भने गरी नसकेको बताइन् ।

उनले साथीहरुले महासमिति बैठक केन्द्रीय कार्य समितिले बोलाउँदैन भने विधानअनुसार बोलाउन माग गर्न लागेको हुन सक्ने बताइन् ।
स्रोतका अनुसार कोइरालानिकट नेताहरुले तिहारलगत्तै महासमिति बैठक बोलाउन माग गर्दै महासमिति सदस्यहरुको हस्ताक्षर संकलन गर्ने भएका छन् ।

कांग्रेस विधानअनुसार महासमितिका ४० प्रतिशत सदस्यहरुले कारण खोली बैठक बोलाउन केन्द्रसमक्ष लिखित अनुरोध गरेमा अनुरोध प्राप्त भएको तीन महिनाभित्र महासमितिको विशेष बोलाउनुपर्ने व्यवस्था छ ।

आमोद उपाध्याय संयोजकत्वको केन्द्रीय अनुशासन समितिले सुजातासहित १ सय ८३ जना कांग्रेस नेता कार्यकर्तामाथि संविधानसभा निर्वाचनमा अन्तरघात गरेको अभियोगमा अनुशासनको कारवाही सिफारिस गरेको छ ।

कांग्रेस संस्थापन पक्षले भने विधान अनुसार नै महाधिवेशन हुने वर्ष महासमिति बैठक नहुने र अहिले माघ ८ मा संविधान जारी गर्नुपर्ने भएकाले महासमिति बोलाउन सम्भव नरहेको प्रष्ट पारेको छ ।

तर, यसबीचमा सुजाता कोइराला निवास मण्डिखाटारमा बसेको संस्थापन पक्षका असन्तुष्ट नेताहरुको बैठकले सुशील कोइराला पार्टी र सरकार सञ्चालनमा असफल भएको ठहर गरेको एक सभासदले बताए ।

भेलाले पार्टीमा देउवा पक्ष तथा सरकारमा एमाले हाबी भएको निष्कर्ष निकाल्दै महासमिति विशेष बैठक बोलाउन अभियान चलाउने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us