मोहनविक्रम भन्छन्, ‘कम्युनिष्ट शब्द सुन्दैमा रिस उठ्थ्यो’

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ५:५९ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– नेकपा–मसालका महामन्त्री मोहनविक्रम सिंहले आफू पहिला कम्युनिष्टविरोधी रहेको बताएका छन् ।
mb singhहिन्दू धर्मप्रतिको गहिरो आस्था र बाबु घरानिया काँग्रेस भएका कारण आफूमा कम्युनिष्ट विरोधी भावना प्रचुर रहेको सिंहले बताए । आफूमा रहेको कम्युनिष्ट विरोधी भावनाका कारण कम्युनिष्टहरुलाई देख्नै नसक्ने स्वभाव रहेको खुलासा उनले गरे ।
‘पिताजी काँग्रेसमा हुनुभएकाले होला मभित्र कम्युनिष्टविरोधी भावना थियो, काठमाण्डु टुडेसँग सिंहले भने, ‘अर्को कुरा आर्य समाजमा रहेको हुनाले पनि कम्युनिष्टविरोधी भावना प्रचुर थियो, कम्युनिष्टका कुरा सुन्यो कि रिस उठ्थ्यो ।’

उनले कम्युनिष्टहरुको खण्डन गर्न उनीहरुका कुरा बुझ्न जरुरी छ भनेर माक्र्सवादी साहित्यको अध्ययन गर्दै जाँदा आफूमा एक्कासि कम्युनष्टि भावना बढेको बताए । ‘त्यतिखेर काठमाण्डुमा माक्र्सवादी अध्ययन मण्डलीहरु थिए । त्यसैमा अध्ययन गर्दै जाँदा विस्तारै माक्र्सवादी–लेनिनवादी दर्शनतिर झुकाव बढ्न थाल्यो । कम्युनिष्ट सिद्धान्त र दर्शनबाट प्रभावित भएँ । दुई वर्षजति अध्ययन गरें । त्यसपछि २०१० सालमा कम्युनिष्टको सदस्यताका लागि आवेदन दिएँ’ । उनले ००७ सालमा प्रजातन्त्र स्थापनापछि गठित राणा–काँग्रेस संयुक्त सरकारले विद्यार्थी नेता चिनियाकाजी श्रेष्ठको हत्या गरेपछि काँग्रेससँग होमभंग भएको बताए ।
कमयुनिष्ट एकता असम्भव
महामन्त्री सिंहले नेपालमा कम्युनिष्टहरुबीच एकता भएर तत्काल कम्युनिष्ट केन्द्र बन्ने अवस्था नरहेको प्रष्ट्याए । कम्युनिष्ट एकताको कुरा राम्रो भए पनि विचार र कार्यदिशामा समानता नभएसम्म एकता हुनै नसक्ने बताए ।

‘सबै कम्युनिष्ट एउटै खेमामा हुनु राम्रो कुरा हो’, सिंहले भने, ‘कम्युनिष्ट केन्द्र बन्ने भनेको विचार, राजनीति, कार्यदिशाका आधारमा हो, मूल्य–मान्यताहरुलाई पन्छाएर पदका लागि एकजुट हुने र पदको भागबण्डा हुने हो भने कम्युनिष्ट एकताको अर्थ हुँदैन ।’ यद्यपि विचार मिल्ने कम्युनिष्ट घटकहरुबीच कार्यगत एकता हुन सक्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us