काठमाण्डु, २ कात्तिक – संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले कात्तिक १५ अघि नै संविधानको अन्तरवस्तुमा सहमति र सहमति नभएका विषयमा प्रश्नावली बनाएर नबुझाउने हो भने माघ ८ मा संविधान जारी गर्न नसकिने बताएका छन् ।
मस्यौदा समितिले आइतवार विहान सिंहदरवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति सिटौलाले संविधानसभा र संवाद समितिले कात्तिक १५ भित्रमा मस्यौदाका लागि पठाउनुपर्ने बताएका हुन् ।
सिटौलाले भने- ‘संविधानका मूलभूत अन्तर्वस्तुहरुमा सहमति जुटाउन शीर्ष नेताहरुले अब समय धेरै लिनु हुदैन, सहमति नभएका विषयमा प्रश्नावली बनाएर टुंगो लगाउनु पर्छ ।’ कात्तिक १५ अघिनै निर्देशन पाए १६र१७ घण्टा खटेर भए पनि एक महिना पहिलेनै प्रारम्भिक मस्यौदा तयार पार्ने सिटौलाले दावी गरे ।
शीर्ष नेताहरुको बैठकमा नियमित सहभागी हुदै आएका कांग्रेस महामन्त्रीसमेत रहेका सभापति सिटौलाले सहमतिका नाममा अब समय खेर फाल्न नहुने बताए ।
‘सबै दल र सभासदहरुलाई सहमतिमा लिन सकिन्न, मुख्य दलहरुबीच अधिकतम सहमति खोज्ने हो, तर अधिकतम सहमतिका लागि अधिकतम समय नलिनुस् भनेर मैले शीर्ष नेताहरुलाई भनेको छु,’ सिटौलाले भने ।
उनले संवाद समिति र संविधानसभाले पठाउने बित्तिकै मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्न आफूहरु स्ट्यान्डबाइ रहेको जानकारी दिए । तर माघ ८ मा संविधान जारी गर्ने कुरामा तलमाथि नहुने उनको दावी थियो ।