काठमाण्डु, ३१ असोज– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ कांग्रेस– एमाले सहमतिविरुद्ध गए अर्को जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको चेतावनी दिएका छन् ।
२२ दलीय गठवन्धनले शुक्रबार राजधानीको खुलामञ्चमा गरेको सभालाई सम्बोधन गर्दै उनले विगतमा गरिएका सहमतिप्रति इमान्दार हुन काँग्रेस–एमालेलाई आग्रह गरे ।
यद्यपि आफूहरु फेरि बन्दुक उठाउने पक्षमा भने नरहेको उनको भनाइ थियो । ‘मैले फेरि बन्दुक उठाउने र युद्ध गर्ने भनेको होइन’, प्रचण्डले भने, ‘तर तथाकथित बहुमतका कुरा गर्ने हो भने अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न तयार छु ।’
सभालाई उनले आन्दोलन नभएको दाबी गरे । बरु आन्दोलनका लागि सल्लाह भएको बताए । प्रचण्डले २२ दलीय गठबन्धनको लक्ष्य संविधान निर्माणमा सघाउनु रहेको बताए । १० वर्षे जनयुद्ध र विभिन्न आन्दोलनको उद्देश्य सहमतीय संविधान बनाउनु रहेको भन्दै उनले विगतमा भएका सहमतिको मर्मअनुसार संविधान नबनेसम्म आन्दोलन जारी रहने उल्लेख गरे ।
विगतमा सहमति गर्दा आफू चुकेको स्वीकार गर्दै प्रचण्डले अब मर्न तयार रहेको तर झुकेर सम्झौता नगर्ने जनाए । उनले सम्झौता गर्दा काँग्रेस–एमालेले विगतमा विश्वासघात गरेको भन्दै आक्रोश पोखे । ‘काँग्रेस–एमालले हतियार र सेना बुझाउनुस्. सात दिनमा संविधान बन्छ भने, तर ममाथि विश्वासघात भयो’, प्रचण्डले भने, ‘अब म गरिब र जनजातिका लागि जीवनभर लड्न तयार छु, तर भुक्न तयार छैन ।’
प्रचण्डले २२ दलीय गठबन्धनले आन्दोलन गरे त्यो १० वर्षे जनयुद्धभन्दा ठूलो हुने दाबी गरे । काँग्रेस–एमाले नेताले आफूलाई राजनीतिक संयन्त्रको नेता कि २२ दलीय गठबन्धनको नेता भन्ने प्रश्न गर्ने गरेको भन्दै उनले आफू दुवैको नेता भएको स्पष्ट गरे ।
तर अन्तिममा कसैले संयन्त्रको नेता वा जनतामध्ये को रोज्छस् भन्ने प्रश्न गरेको खण्डमा आफूले संयन्त्र छाड्ने र जनता रोज्ने उनको भनाइ थियो ।