काठमाण्डु, ३१ असोज – संविधानका विवादित विषयमा सहपति जुटाउन बसेको प्रमुख तीन दलको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।
तीन दलका शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो ।
‘आजको बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सहमति कायम छ भनेर प्रतिवेदन बुझाउने निर्णय गरेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नयाँ संविधानका विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्न दोस्रो पटक संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई दिइएको पाँचदिनको समय आजसम्म रहेको छ । समितिमा विवादित विषयमा सहमति जुट्न नसकेमा संविधानसभाको पूर्ण बैठकको प्रक्रियामा जाने कि समितिको समयसीमा अरु थप गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
नेता श्रेष्ठले भने, ‘हामी मिल्न नसकेका मुख्य चार विषयलाई सहमतिबाटै समाधान खोज्ने प्रयत्नमा छौं, निरन्तर संवादबाट सहमति खोजिरहेका छौँ ।’
बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, एमाले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता डा। बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
आजको तीन दलको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आमन्त्रण गरिएको थियो । ‘संविधानका विवादित चार विषयमा हामी बेलुकीसम्म केही न केही ठोस गुदी निकाल्छौं ’ उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डले भने ।