विराटनगर, ३१ असोज – एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताएकी छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गरेकी हुन्।
नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गरिन्।
एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरुसँग अरु विकल्प नभएकाले दलहरुबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताइन्।
उनले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरु क्रियाशील हुनुपर्नेमा जोड दिइन्।