काठमाण्डू, ११ साउन– प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन ।
उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने पनि बताए । आज (सोमबार) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन ।
मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । आङ्देम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप समेत लगाएका छन ।
शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उनको भनाइ छ। उनले भने, ‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यो घटनाको जिम्मेवार सरकारले लिनुपर्छ ।’
आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको पनि उल्लेख गरेका छन् । उनले भने, ‘पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीव्र असन्तोष पैदा भएको छ ।
परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना बारम्बार दोहोरिएको छ ।’ आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन अनुरोध समेत गरेका छन ।
साथै, सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ । साथै, अफवाह र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न उनले सबैमा अपिल गरेका छन्।