देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहता भन्छन्ः बिजुलीको लाइन काटेर गोली चलाइयो

काठमाण्डु टुडे २०८३ साउन ११ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, ११ साउन– आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिकाको नयाँ हाटबजार क्षेत्रमा भएको झडपमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

स्थानीय हिन्दु र मुस्लिम युवाको झडपपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ । गएराति र आज थप एक जनाको मृत्यु भएको देवानगञ्ज पालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए । घाइतेहरूको तिघ्रा, कम्मर, पेट र हातमा गोली लागेको छ ।

यो राति १० बजेतिरको घटना भएको बताइएको छ । यसबारे अध्यक्ष मेहताले भनेका छन, ‘आइतबार राति १० बजे प्रहरी आएपछि जनपथका इक्स्पेक्टरको टाउको फुट्यो ।

त्यसपछि छेउकै क्लिनिकमा उनको टाउकोमा टाका लगाउँदै गर्दा गोली चल्न थाल्यो । इन्स्पेक्टरले हाम्रा केटाहरूले गोली चलाएको होइन भन्नुभएको छ । घटनालाई उत्तेजित बनाउने समूह हिँडेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको आशंका स्थानीयहरूको छ । केही प्रहरी पनि घाइते भएका छन् ।

तर राति नै स्थानीय ओमप्रकाश मेहताको मृत्यु भयो । राति मृत्यु हुनेको पेटमा गोली लागेको छ । यतिधेरै गोली प्रहरीबाहेक कसले चलाउन सक्छ र ? भनेर स्थानीयले प्रश्न गर्नुभएको छ । कसले गोली चलायो भन्ने छानबिनले पत्ता लाग्ला । तर गोली चल्न थालेदेखि सो क्षेत्रमा बिजुली पनि काटिएको थियो ।

घटना भएर १० जना घाइतेलाई अस्पताल लगेपछि आधा घण्टामा बल्ल बिजुली पुनः आयो । सोमबार बिहान अर्का एक युवाको पनि पेटमा गोली लागेको कारण मृत्यु भएको छ ।

घटना घटेको आधा घण्टापछि घाइतेलाई उपचारका लागि विराटनगरका तीनवटा अस्पतालमा लगिएको थियो । विराटनगरका न्युरो अस्पतालमा ५ जना, विराट नर्सिङ होममा ४ जना र नोबेल १ जनाको उपचार भइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us