काठमाण्डू, ११ साउन– कर्फ्यूका बीच सुनसरीको दक्षिणी क्षेत्रमा प्रदर्शन सुरू भएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको भए पनि परिस्थिति असामान्य र जटिल बन्दै गएको पनि बताइन्छ ।
आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यू सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यूको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरू गरेका छन् । भिडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।
बिहान करिब १० बजेदेखि ४–५ सयजनाको समूह सडकमा निस्किएका छन् । प्रदर्शनकारीले कप्तानगञ्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका पाँचवटा पसलमा तोडफोड गरेका छन । एउटा फार्मेसी, एउटा मोटरसाइकल ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले बिहान ७ बजेदेखि अनिश्चितकालीन लगाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।
सुरक्षाकर्मीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । यद्यपि, प्रदर्शनकारी पछि हटेका छैनन् ।