काठमाण्डू, ९ साउन – विश्व फुटबल स्टार तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका जेठा छोरा थियागो अहिले १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित नम्बर १० जर्सी लगाएर खेल्छन् ।
उनको खेल शैली भने बुबाभन्दा फरक मानिन्छ– गोल गर्ने र ड्रिबल गर्नेभन्दा बढी सिर्जनशीलता, दृष्टिकोण र डिफेन्सिभ वर्करेटका लागि उनी चिनिन्छन् । जुनियर लिगमा प्रदर्शनस् थियागोको ट्रफी संग्रह निकै प्रभावशाली समेत छ । उनले वेस्टन कप अन्डर–१२ (२०२४) वेस्टन कप अन्डर–१३ (२०२५) ड्रिम्स कप च्याम्पियनसिप (२०२५ अन्त्यतिर) फेरि ड्रिम्स कप (मे २०२६) र २०२६ को एमआईसी फुटबल पुन्टा केनअन्डर–१४ च्याम्पियनसिप जितेका छन् ।
यो अन्तिम टुर्नामेन्ट डोमिनिकन रिपब्लिकको पुन्टा कानामा जुन २४ देखि २९ सम्म आयोजना भएको थियो जसमा २० देशका १०३ टिम, २००० भन्दा बढी खेलाडी र २५० भन्दा बढी म्याचहरू भएका थिए । रोचक कुरा यो च्याम्पियनसिप जित्दा उनका बुबा मेस्सी टेक्ससको डलासमा जोर्डन विरुद्ध अर्जेन्टिनाको तर्फबाट खेल्दै थिए ।
तेह्र वर्षको उमेरदेखि इन्टर मियामीका एकेडेमी टिमहरू अमेरिका र क्यानडाको सर्वोच्च युवा विकास लिग एमएलएस नेक्स्टमा प्रतिस्पर्धा गर्छन् । यसै सिजनमा थियागोको टिम सल्ट लेक सिटीमा एमएलएस नेक्स्ट फाइनलसम्म पुगेको थियो तर ओर्लान्डो सिटी एससीसँग ३–२ ले हारेर उपविजेता भयो ।
उनी नोभेम्बरमा १४ वर्ष पुग्दैछन् । अहिलेसम्म थियागो मेस्सीले अर्जेन्टिनाको आधिकारिक जुनियर राष्ट्रिय टिमबाट भने खेलेका छैनन् । उनले अर्जेन्टिना खेल्ने इच्छा भने स्पष्ट रूपमा व्यक्त गरेका छन् । थियागो जन्मले स्पेनिस हुन् (बार्सिलोनामा जन्मेका) र स्पेनको लागि पनि खेल्न पाउँछन् तर उनले स्पेनी टिमको तर्फबाट खेल्ने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै अर्जेन्टिनाकै लागि खेल्ने दृढ इच्छा जनाएका छन् ।
एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अर्जेन्टिनाको तर्फबाट‘ स्पेनमा जन्मेको हो, हो। तर मलाई कसैले मनाउन सक्छ जस्तो लाग्दैन ।’२०३० को विश्वकपमा उनी १८ वर्षका हुनेछन् भन्दै फ्यानहरूले सुरुदेखि नै अर्जेन्टिना सिनियर टिममा उनको सम्भावित प्रवेशको कल्पना गर्न थालेका छन् । भविष्यमा अर्जेन्टिना फुटबल संघले उनलाई बोलाउने सम्भावना नकार्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन ।
मातेओ र सिरो मेस्सीः फरक–फरक शैली
मातेओ मेस्सी हाल १० वर्षका भए । आफ्नो हास्यबोध र अभिव्यक्तिपूर्ण व्यक्तित्वका लागि परिवारमा सबैभन्दा चिनिने अनुहार बनेका छन् उनी । मैदानमा भने गोल गर्न र प्रतिपक्षको पोस्ट नजिक रुचाउँछन्। मेस्सीले उनलाई ठ्याक्कै आफूजस्तै अत्यन्त प्रतिस्पर्धी र हार मन नपराउने बताएका छन् ।
सिरो मेस्सी हाल ८ वर्षका भए । सिरो सबैभन्दा विस्फोटक र एक–एक (वान अन वान) खेल अवस्थामा रुचि राख्नेमा मानिन्छन्, यद्यपि यो उमेरमा शैली र भूमिका पूर्ण रूपमा बदलिन सक्छ। मेस्सी भने आफ्ना छोराहरूले जे मन पराउँछन् त्यही अपनाउन चाहन्छन् । फुटबल खेल्छन् तापनि यसलाई पेशेवर बाध्यताको रूपमा उनले सार्वजनिक रूपमा प्रस्तुत गरेका छैनन् ।