एजेन्सी– विश्वकप फाइनलपछि मैदानमा देखिएको विवादास्पद घटनालाई लिएर अर्जेन्टिनामाथि फिफाले औपचारिक छानबिन सुरु गर्ने भएको छ ।
फिफाले मेटलाइफ स्टेडियममा खेल सकिएपछि भएको घटनाको मूल्यांकन गर्न अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरेको जनाको छ । यस झडपमा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बन हुन सक्ने सम्भावना रहेको बताइएको छ । अर्जेन्टिनी फुटबल एसोसिएसनलाई जरिबाना पनि हुन सक्ने बताइएको छ ।
आइतबार स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी तथा प्राविधिक टोलीका सदस्यहरू स्पेनका खेलाडीहरू विश्वकप जितको उत्सव मनाइरहेका बेला उनीहरूसँग झडपमा उत्रिएका थिए । नाहुएल मोलिना, लिआन्द्रो परेदेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला उक्त घटनामा संलग्न देखिएका थिए ।
सुरुमा फिफाले स्पेनका एरिक गार्सियाको घाँटी समातेर धकेलेको आरोपमा रेफ्री स्लाभको भिन्चिचले परेदेसलाई रातो कार्ड देखाएको जनाएको थियो । तर, केही समयपछि परेदेसको रातो कार्डको अभिलेख हटाइयो र फिफाले बीबीसी स्पोर्टसलाई त्यस समयमा कुनै अनुशासनात्मक कारबाही नगरिएको पुष्टि गर्यो ।
अर्जेन्टिनाका एन्जो फर्नान्डेजले भने दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि पहिले नै मैदान छाडिसकेका थिए ।
यसअघि सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि पनि फिफाले उनीहरूमाथि सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया सुरु गरिसकेको थियो ।