एजेन्सी– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले आफ्नो कार्यकाल सकिनुअघि नै शुक्रबार पदबाट राजीनामा दिने भएका छन । उनका प्रेस सचिव सरवार आलमका अनुसार स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले उनी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने निष्कर्षमा पुगेका हुन् ।
शाहाबुद्दीनको कार्यकाल सन् २०२८ को अप्रिलसम्म रहने भए पनि उनले बीचमै पद त्याग्ने निर्णय गरेका हुन् । उनको राजीनामाको निर्णय पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किएर अदालतको सजाय स्वीकार गर्ने घोषणा गरेपछि आएको हो ।
हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने घोषणा गरेको केही दिनअघि गरेकी थिइन् । त्यसलगत्तै शाहाबुद्दिनको राजीनामाको निर्णय सार्वजनिक भएको हो । प्रेस सचिव आलमले राष्ट्रपतिको स्वास्थ्य उपचार र आराम आवश्यक भएकाले राजीनामाको निर्णय गरिएको बताए ।
यद्यपि सरकारनिकट स्रोतहरूले भने शेख हसिनासँग रहेको लामो राजनीतिक सम्बन्धका कारण सरकारले शाहाबुद्दीनलाई पद छोड्न दबाब दिएको दाबी गरेका छन् ।
शेख हसिना सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी थिइन् । त्यसपछि शाहाबुद्दीनले संक्रमणकालीन राजनीतिक प्रक्रिया सम्हालेका थिए, जसको अन्त्य यस वर्षको निर्वाचनपछि तारिक रहमान प्रधानमन्त्री बनेसँग भएको थियो ।