देशभर वर्षाको सम्भावना, तीन दिन अति भारी वर्षा नहुने

काठमाण्डु टुडे २०८३ साउन ८ गते ७:३१ मा प्रकाशित

काठमाडौं- देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले शुक्रबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिए पनि आगामी तीन दिनसम्म अति भारी वा धेरै भारी वर्षाको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा हाल सामान्य बदली रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षा गराउन सक्ने बादल विकसित भइरहेकाले दिनको कुनै पनि समयमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

देशका अधिकांश भूभागमा मनसुनी बादलको प्रभाव कायम छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली छ ।

तराईका अधिकांश क्षेत्रमा बादल लागेको छ । अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

हिमाली भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा करिब ५० मिलिमिटरसम्म भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा कोशी प्रदेशका केही बढी स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति भने भारी वर्षाको सम्भावना नरहेको बताइएको छ ।
मौसमविद् अधिकारीका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास रहेकाले आगामी तीन दिनसम्म मनसुनी प्रभाव कायम रहनेछ ।

त्यस अवधिमा वर्षा भइरहे पनि अति भारी वा धेरै भारी वर्षा गराउने प्रणाली सक्रिय नभएकाले तत्काल ठूलो वर्षाजन्य जोखिम नरहेको उनले बताए ।
महाशाखाले मौसममा स्थानीय रूपमा छिटो परिवर्तन हुन सक्ने भएकाले आधिकारिक मौसम बुलेटिन नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us