काठमाण्डू, ६ साउन– एक सैनिक अधिकारी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने क्रियाकलापमा संलग्न देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदिप अधिकारीकी पत्नी सुफल केसी घुस र सम्पत्ति शुद्धीकरण सम्बन्धी भ्रष्टाचारमा संलग्न रहेको हुनसक्ने भन्दै अख्तियारले छानबिन गर्न जंगी अड्डामा पत्राचार गरेको छ ।
प्रदीप अधिकारीकी पत्नी सुफल केसी नेपाली सेनाकी प्राविधिक सह–सेनानी (क्याप्टेन) हुन् । अख्तियारले मंगलबार सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदीय भूमिका खुलाएको थिएन ।
अख्तियारले अधिकारीमाथि घुस लिएको र त्यसक्रममा सम्पत्ति शुद्धीकरण गरेको आरोपसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विमानस्थल निर्माणमा जोडिएका ठेकेदार कम्पनीका सञ्चालकहरुसँगको जग्गा कारोवारमा सम्पत्ति शुद्धीकरण गरेको भनी अख्तियारले मंगलबारको मुद्दामा एक करोड ७१ लाख रुपैंया विगो मागदावी गरेको थियो ।
आफ्नो पत्नीको खाताबाट कारोबार गरेको भनी अधिकारीमाथि आरोप लगाएको अख्तियारले नेपाली सेनामा कार्यरत उनकी पत्नीमाथि अनुसन्धान गर्नू भनी पत्राचारको निर्णय गरेको हो ।