आज चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी

काठमाण्डु टुडे २०८३ साउन ६ गते ७:२८ मा प्रकाशित

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागले ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ । यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

आज पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

साथै कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनाको नियमित जानकारी लिन पनि अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us