दोलखामा पहिरोले गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता

काठमाण्डु टुडे २०८३ साउन ६ गते ७:२३ मा प्रकाशित

काठमाडौं-दोलखामा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब २ः३० बजे गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै आएको पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन् ।

पहिरोका कारण जलविद्युत् आयोजनाका कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको नेपाल विपद् मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us