डढेलोको धुवाँपछि ट्रम्पको चेतावनी: क्यानडाले ठूलो मूल्य चुकाउनुपर्ने

काठमाण्डु टुडे २०८३ साउन २ गते १८:२६ मा प्रकाशित

एजेन्सी- क्यानडामा फैलिएको डढेलोबाट निस्किएको धुवाँ अमेरिकी सहरसम्म पुगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जिम्मेवारी क्यानडाले लिनुपर्ने बताएका छन् ।

उनले प्रदूषणबाट अमेरिकालाई भएको क्षतिको भरपाईस्वरूप क्यानडामाथि थप भन्सार (ट्यारिफ) लगाउन सकिने चेतावनी दिएका हुन् ।

शुक्रबार ट्रुथ सोसलमा ट्रम्पले क्यानडाले वन व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।

जंगलमा थुप्रिएको सुख्खा अवशेष हटाउने र डढेलो नियन्त्रण गर्ने आधारभूत काम नगर्दा अमेरिकाले प्रदूषित हावाको सामना गर्नुपरेको उनको भनाइ छ ।

उनले यस विषयमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग छलफल गर्ने जानकारी पनि दिएका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार ओन्टारियो प्रान्तका करिब २०० स्थानमा लागेको डढेलोबाट निस्किएको धुवाँ न्यूयोर्क, डेट्रोइट, वासिङ्टन डीसीलगायतका अमेरिकी सहरसम्म पुगेको छ ।

त्यसका कारण पछिल्ला दिनमा ती क्षेत्रमा वायु प्रदूषणको स्तर खतरनाक बनेको छ ।

उता, डढेलोले ओन्टारियोमा लाखौं मानिस प्रभावित भएका छन् भने सयौं जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

ट्रम्पको भनाइपछि केही रिपब्लिकन सांसदले पनि क्यानडाको वन व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

मिशिगनका चार सांसदले प्रधानमन्त्री कार्नीलाई पत्र लेख्दै सीमापार असर गर्ने डढेलो नियन्त्रणमा क्यानडाले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

तर क्यानडाले भने यी आरोप अस्वीकार गरेको छ ।

आपतकालीन व्यवस्थापन मन्त्री एलेनोर ओल्सजेउस्कीले डढेलोको मुख्य कारण जलवायु परिवर्तन भएको बताएकी छन् ।

उनका अनुसार उत्तरी ओन्टारियो र क्युबेकमा यस वर्ष सामान्यभन्दा ४० प्रतिशत कम वर्षा हुनुका साथै तापक्रम पनि औसतभन्दा धेरै बढेकाले डढेलो तीव्र बनेको हो ।

क्यानडाले सन् २०२० यता वन संरक्षण र डढेलो रोकथाममा १२ अर्ब क्यानडेली डलर खर्च गरिसकेको जनाएको छ ।

प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तनसँग जुध्न सबै देशको साझा प्रयास आवश्यक रहेको बताएका छन् भने ओन्टारियोका प्रिमियर डग फोर्डले आलोचना होइन, संकटका बेला सहकार्य गर्न अमेरिकालाई आग्रह गरेका छन् ।

यद्यपि ट्रम्पले थप ट्यारिफ लगाउने चेतावनी दिए पनि त्यससम्बन्धी कुनै औपचारिक निर्णय वा कार्ययोजना भने सार्वजनिक गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us