काठमाण्डु– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार झापा, डडेलधुरा, कैलाली र रुपन्देहीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो भने केही घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
झापाको गौरिगञ्ज गाउँपालिका–२ स्थित कृष्ण खोला नजिक शुक्रबार कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
प्रदेश १–०२–००२ च ५१०१ नम्बरको कार र भारतीय नम्बर बीआर ३८ एच ५५४७ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन् । कार चालकको भने भने उपचार भइरहेको छ ।
यस्तै डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो शुक्रबार राति अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सोभानसिंह लोथ्याल र २८ वर्षीया हनु लोथ्याल गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा डडेलधुरा अस्पतालमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। चालकसहित अन्य दुई जना भने उपचाररत छन् ।
कैलालीको गोदावरी नगरपालिका–५ स्थित मत्स्य पालन केन्द्र नजिक शनिबार बिहान अत्तरियाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००८ प ५९९८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ तारानगरका १८ वर्षीय पर्वत चौधरी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० राजमार्ग चौराहामा शनिबार दिउँसो टिपर र स्कुटर ठोक्किँदा स्कुटर चालक सिद्धार्थनगर नगरपालिका–५ निवासी ६० वर्षीय तारा चन्द सुनारको ज्यान गएको छ ।
लु२ख ३००२ नम्बरको टिपर र नम्बर प्लेट नभएको स्कुटरबीच भएको ठक्करमा गम्भीर घाइते भएका सुनारको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय सडक दुर्घटनाका घटनामा वृद्धि देखिएकाले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गति कायम राख्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।