यो सरकार पाँच वर्ष टिक्ने देखिएनः कुलमान

काठमाण्डु टुडे २०८३ साउन २ गते १८:०२ मा प्रकाशित

काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने संकेत देखिएको दाबी गरेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा घिसिङले सरकारका गतिविधि ठीक ढंगले अगाडि नबढेको आरोप लगाए । सरकारको व्यवहारले जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो ।

‘हाम्रो चाहना यो सरकार पाँच वर्ष टिकोस् भन्ने हो’, उनले भने, ‘अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएन ।’

निराशाकै कारण व्यवसायी र युवाहरुले आत्मदाह गर्ने परिस्थिति निर्माण हुनुमा आंशिक रुपमा सरकार जिम्मेवार रहेको टिप्पणी घिसिङले गरे ।
घिसिङले दुई तिहाइ नजिकको शक्तिशाली सरकार हुँदा पनि जनताको आशा निराशामा बदलिए मुलुक द्वन्द्तर्फ जाने चेतावनी दिए ।

फरक प्रसंगमा उनले आफ्नो दल रास्वपाजस्तो स्टण्टमा विश्वास नगर्ने बताए । चुनावअघि रास्वपासँग पार्टी एकता गर्नु आफूहरुको ठूलो भुल भएको स्वीकार गरे । वर्षातपछि देशव्यापी रुपमा संगठन विस्तारको अभियान लिएर जाने उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us