बालेनलाई देवेन्द्रराज पाण्डेको अन्तिम सुझाव : ‘यार होइन, अनुभवी व्यक्तिको साथ लिनू’

काठमाण्डु टुडे २०८३ साउन २ गते ९:२६ मा प्रकाशित

काठमाडौं-  नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेले निधन हुनुअघि रास्वपा/बालेन नेतृत्वको सरकारलाई अनुभवी र दूरदर्शी व्यक्तिहरूको साथ लिएर शासन सञ्चालन गर्न सुझाव दिएका थिए ।

सरकारको सफलता कुनै व्यक्ति वा दलको नभई मुलुककै हितमा हुने उनको भनाइ थियो ।

गत असार १८ गते सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा पाण्डेले आफू सरकारको सफलता वा असफलता देख्न जीवित नहुन सक्ने उल्लेख गर्दै त्यसको सफलताको कामना गरेका थिए ।
‘रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न–भोग्न म पाउँदिन। तर, यिनीहरू सफल हुन सकून् भन्ने चाहन्छु । यिनको वा मेरो निम्ति होइन, मुलुकको निम्ति,’ उनले लेखेका थिए ।

पाण्डेले सरकार परिवर्तन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै राज्य सञ्चालनमा नीतिगत, संस्थागत र प्रक्रियागत सुधार आवश्यक रहेको बताएका थिए ।

उनले सरकारलाई राजनीतिक नेतृत्वका वरिपरि रहने व्यक्तिहरूमा मात्र भर नपरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश बुझेका अनुभवी विज्ञहरूको सहयोग लिन आग्रह गरेका थिए ।

‘यारहरू यार हुन सक्छन्, प्यार पनि देलान्। तर राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश बुझेर दीर्घकालीन सोचका साथ नीति निर्माणदेखि संवाद र सञ्चारमार्फत सरकारलाई चाहिने सहयोग पुर्‍याउन सक्दैनन्,’ उनले लेखेका थिए ।

योग्य र अनुभवी व्यक्तिहरूको अभाव पूरा गर्न सके सरकार मात्र होइन, मुलुक पनि सफल हुने विश्वास व्यक्त गर्दै उनले सन्देशको अन्त्यमा लेखेका थिए, ‘यो अभाव पूर्ति गर । सरकार सफल बनाऊ, आफू सफल बन, मुलुक सफल बनाऊ ।’

शुक्रबार पाण्डेको निधनपछि उनको यो सन्देश सामाजिक सञ्जालमा व्यापक साझा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us