देउवाको हात भाँचिएको समाचार असत्य:सचिवालय

काठमाण्डु टुडे २०८३ साउन २ गते ९:०२ मा प्रकाशित

काठमाडौ-  कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको उनको सचिवालयले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सचिवालयले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा देउवा लडेर हात भाँचिएको भन्ने आशयका अपुष्ट र भ्रामक समाचार फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात भाँचिएको छ ।

कुनै आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास भएको सचिवालयको भनाइ छ ।
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट सत्यता पुष्टि गर्न आग्रह गरेको छ ।

तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह र भ्रम फैलाउने गतिविधिबाट टाढा रहन पनि सचिवालयले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us