काठमाडौं-एमाले नेता विष्णु रिजालले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइसँगै सरकारले उनीविरुद्ध प्रमाण पेश गर्न नसकेको दाबी गरेका छन् ।
शनिबार फेसबुकमा धारणा सार्वजनिक गर्दै रिजालले पौडेललाई २५ दिन हिरासतमा राखेर चर्को मिडिया ट्रायल, चरित्रहत्या र निराधार आरोप लगाइएको भए पनि विशेष अदालतले रिहा गरेको उल्लेख गरेका छन् ।
अदालतको आदेशले मुद्दा नै निराधार, प्रतिशोधपूर्ण र कानुनी आधारविहीन रहेको पुष्टि गरेको उनको दाबी छ ।
रिजालले जबर्जस्ती नाम जोडिएका भनिएका दीपक भट्टसँग पौडेलको कुनै आर्थिक कारोबार वा साझेदारी पुष्टि हुने प्रमाण अनुसन्धानबाट फेला नपरेको उल्लेख गरेका छन् ।
श्रीराम टोबाकोको सेयर कारोबार प्रकरणमा पनि पौडेल अर्थमन्त्री नभएको समयमा भएको कारोबारलाई लिएर आरोप लगाइएको भन्दै उनले तथ्य र आरोपबीच मेल नखाने जिकिर गरेका छन् ।
उनले कमल मालपानी र चुन्नुप्रसाद शर्मालाई दबाब दिएर पौडेलको नाम बयानमा समावेश गराइएको दाबी गर्दै उनीहरूलाई सरकारी साक्षी बनाइएको उल्लेख गरेका छन् ।
रिजालले पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला पौडेललाई पक्राउ गरेर अपराधीसरह प्रस्तुत गरिएको भन्दै त्यसले उनको मानमर्दन भएको बताएका छन् ।
उनले अनुमान, पूर्वाग्रह र प्रतिशोधका आधारमा राज्य सञ्चालन गर्न खोजिएको आरोप पनि लगाएका छन् ।
सरकार कानुन र विधिभन्दा बाहिर गएर अघि बढिरहेको आरोप लगाउँदै रिजालले न्यायिक परीक्षणमा सरकार पटक–पटक असफल भइरहेको दाबी गरेका छन् ।