जालसाजी गरेर जग्गा हडपेको आरोपपछि के भन्छन् बहादुरसिंह लामा ?

काठमाण्डु टुडे २०८३ साउन १ गते १९:५६ मा प्रकाशित

काठमाडौं-  कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले आफू, ज्योति विकास बैंक र अन्य व्यक्तिको मिलेमतोमा जालसाजी गरी जग्गा हडपेको भन्ने आरोप निराधार र नियोजित दुष्प्रचार भएको बताएका छन् ।

शुक्रबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै लामाले सत्यतथ्य नबुझी आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा अपुष्ट सामग्री फैलाइएको भन्दै त्यस्ता सामग्रीको प्रचार–प्रसार नगर्न आग्रह गरेका छन् ।

उनले निराधार आरोपलाई थप फैलाउने वा प्रकाशन गर्नेहरुविरुद्ध कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

लामाका अनुसार सामाजिक सञ्जालमा आफूले ज्योति विकास बैंकसँगको मिलेमतोमा एक महिलाको घरजग्गा लिलाम गरी हडपेको भन्ने आरोप लगाइएको छ । तर वास्तविकता त्यसभन्दा फरक रहेको उनको दाबी छ ।
उनले किस्पाङ गाउँपालिका–३ निवासी च्याउकी माया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखेर चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिएको उल्लेख गरेका छन् ।

आर्थिक अभावका कारण दुई वर्षदेखि कर्जाको किस्ता र ब्याज नियमित तिर्न नसकेपछि बैंकले पटक–पटक ताकेता गर्नुका साथै चार पटकसम्म लिलामीको सूचना प्रकाशित गरेको उनको भनाइ छ।
लामाले तेस्रो पटकसम्म पनि लिलामी सकार गर्ने व्यक्ति नआएपछि चौथो सूचनापछि घरधनी तामाङ स्वयंले आफ्नो घरजग्गा हाललाई आफूले सकार गरिदिन आग्रह गरेको दाबी गरेका छन् ।

स्थानीयवासी र आफन्तको अनुरोधपछि कानुनी प्रक्रिया पूरा गरेर मात्रै लिलामी सकार गरिएको उनको भनाइ छ ।

वास्तविकता यही हुँदाहुँदै आफूलाई बदनाम गर्ने उद्देश्यले झुटा आरोप लगाइएको भन्दै लामाले त्यसको खण्डन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us