काठमाण्डु– मेडिकल व्यवसायी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो आन्दोलनको प्रभावका कारण बैंकहरू ब्याजदर घटाउन बाध्य भएको दाबी गरेका छन् ।
शुक्रबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले चार वर्षअघि आफूले आन्दोलन सुरु गर्दा बैंकहरूको ब्याजदर १८ देखि २४ प्रतिशतसम्म रहेको उल्लेख गर्दै हाल करिब ५ प्रतिशतमा झरेको जिकिर गरे ।
प्रसाईले आफ्नो अभियान बैंक, लघुवित्त र सहकारीबाट पीडित नागरिकहरूको पक्षमा केन्द्रित रहेको बताउँदै आफूले बैंकबाट लिएको करोडौं रुपैयाँको ऋणको साँवा–ब्याज नियमित रूपमा तिरिरहेको जानकारी दिए ।
उनका अनुसार असार मसान्तसम्म किस्ता र ब्याजबापत १२ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
देशको आर्थिक तथा राजनीतिक अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै उनले वर्तमान सरकार गठनपछि सुकुम्बासी, गरिब, असहाय तथा बैंक–सहकारी पीडितहरूको अवस्था अझ कठिन बनेको दाबी गरे। उनले दशैंपछि मुलुकमा राजनीतिक संकट थप गहिरिने पनि बताए ।
यसैक्रममा प्रसाईले दशैंको आसपास नेपालमा विदेशी सेना आउने तथा दलाई लामाको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने दाबी पनि गरे ।
उनले जेन्जी आन्दोलनका क्रममा सर्वोच्च अदालत र सिंहदरबारमा भएको आगजनी र भौतिक क्षतिलाई उल्लेख गर्दै वर्तमान सरकारले राज्य प्रणाली कमजोर बनाएको आरोप लगाए ।
आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण आत्मदाहका घटना बढ्दै गएको दाबी गर्दै उनले आगामी दिनमा यस्ता घटनाले थप निरन्तरता पाउन सक्ने चेतावनी दिए। उनले सिंहदरबार आसपास एकै दिन ५० जनासम्मले आत्मदाह गर्न सक्ने अवस्था सिर्जना हुन सक्ने दाबी गरे ।
प्रसाईले नेपाली उद्योग–व्यवसाय पनि गम्भीर संकटमा परेको उल्लेख गर्दै भारतीय अवरोधका कारण पूर्वी क्षेत्रमा सञ्चालित चिया उद्योग धराशायी बन्दै गएको बताए । साथै, असारको अन्तिम दिनदेखि नेपालबाट भारततर्फ निर्यात हुँदै आएको फलामे रड र सिमेन्टको निर्यात रोकिएको पनि उनले दाबी ग रे।
राजनीतिक प्रसंगमा उनले धवलशमशेर राणाले पार्टी छोडेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० व्यवहारतः विसर्जन भइसकेको दाबी गरे ।