अर्जेन्टिनाका खेलाडीले प्रदर्शन गरेको राजनीतिक ब्यानरबारे अनुसन्धान गर्न माग

काठमाण्डु टुडे २०८३ साउन १ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, १ साउन– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत हिजो (बिहिबार) राति भएको सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड टापु अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेपछि बेलायतले फिफासँग त्यस घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरको कार्यालय डाउनिङ स्ट्रिटले व्यापारमन्त्री पिटर काइलको मागलाई समर्थन गरेको छ । काइलले उक्त ब्यानर प्रदर्शनलाई फिफाका नियमको ‘गम्भीर उल्लङ्घन’ भएको बताएका छन्। फिफाका नियमअनुसार खेल मैदानमा राजनीतिक सन्देश वा प्रतीक प्रदर्शन गर्न निषेध छ ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘विश्वकप हाम्रो नहोला, तर फकल्याण्ड टापु निश्चित रूपमा हाम्रो हो।’ सन् १९८२ मा अर्जेन्टिनाले दक्षिण एटलान्टिकस्थित बेलायती विदेशी भूभाग फकल्याण्ड टापुमाथि आक्रमण गरेको थियो । त्यसपछि तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले नौसैनिक बल परिचालन गरेपछि भएको छोटो युद्धमा बेलायतले पुनः टापुमाथि नियन्त्रण कायम गरेको थियो ।

पिटर काइलले अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा भएको सेमिफाइनलपछि फिफाले घटनाबारे गहिरो अनुसन्धान गर्नुपर्ने बताए । उनले बीबीसीसँग कुरा गर्दै भने, ‘राजनीति र फुटबल अलग हुनुपर्छ। विश्वकपको आधारभूत सिद्धान्तमध्ये एक पनि यही हो कि राजनीति फुटबलबाट अलग रहनुपर्छ ।

अब यो विषय फिफाको जिम्मेवारी हो र हामी फिफाले यसबारे अनुसन्धान गर्ने अपेक्षा गर्छौं ।’ यद्यपि, फिफाले यस घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us