काठमाण्डू, १ साउन– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी समेत गरीएको छ । गत ८ असारमा पक्राउ परेका पौडेलले आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको अनुसन्धान निष्कर्ष छ ।
पौडेलले अनुसन्धान अधिकृतहरूसँगको बयानमा श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिनु नभनेको बताएका छन । बयानमा पौडेलले भनेका छन्, ‘दीपक भट्टको कम्पनीलाई शेयर दिनु भनेर श्रीराम टोबाको उद्योगका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुटा हो। दीपक भट्ट र श्रीराम टोबाको उद्योगबिचको आपसी सम्बन्धमा मेरो कुनै पनि संलग्नता छैन ।’
पौडेलले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा भएकाले मात्र श्रीराम टोबाको उद्योगका सञ्चालकहरूसँग चिनजान रहेको बताएका छन्। बयानमा उनले भनेका छन्, ‘श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर मैले भनेबमोजिम दीपक भट्टको कम्पनीलाई दिलाएको भन्ने कुरा झुटा हो ।’
त्यस्तै, सुपारी आयात गर्न सहमति दिँदा पनि श्रीराम टोबाकोलाई लक्षित नगरिएको पौडेलले दाबी गरेका छन् । बयानमा उनले भनेका छन्, ‘सुपारी आयातको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवार निकाय हो। अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयबाट नै ‘आवश्यकता तथा औचित्यका आधारमा औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणको यकिन तथा सोको दुरुपयोग हुन नपाउने व्यवस्था सुनिश्चित हुने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेश गर्न’ सहमति दिएको हो। यसबाहेकका अन्य आरोपहरू आधारहीन र झुटा हुन् ।
सुपारी आयातका लागि सम्बन्धित मन्त्रालयलाई सहमति दिँदा श्रीराम टोबाको प्रालिलगायत कुनै उत्पादक कम्पनी, फर्म वा व्यक्तिलाई लक्षित गरिएको छैन।’