सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०८३ असार ३२ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, ३२ असार– प्रहरीले मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरीबाट पक्राउ गरेको छ भने घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन ।

प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन्। उनी सदामका एकलो छोरा थिए ।

प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ । प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा बिसनपुर–बोदेबरसाईन सडक खण्डमा खटिएको प्रहरी टोलीले शंका लागि मोटरसाइकल पछ्याएको थियो ।

त्यसक्रममा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका–२ हुदै खडक नगरपालिका – १ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सो क्रममा एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अर्का एक जना व्यक्ति भने फरार भएका छन्। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका– ५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसका कामदार समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us