काठमाण्डू, ३२ असार– जारी फिफा विश्वकप २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २–१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट निकाल्न सफल भएका थिए ।
अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याउँदै उपाधि रक्षा अभियान कायम राख्दै महत्वपूर्ण भूमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका छन् ।
इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहे पनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पनि पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि बढेका छन । मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ । एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ । अब एमबाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि इंग्ल्यान्डसँग खेल्नेछ ।
एक खेल खेल्न बाँकी रहेकोले एमबाप्पेको पनि गोल्डेन बुटको सम्भावना भने बाँकी नै छ । एमबाप्पे बाहेक मेसीलाई चुनौती दिने अन्य खेलाडीहरु मेसीको छेउछाउ छैनन् । यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए ।
कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् । फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ ।
अब फाइनलमा ५ गोल गरे मात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बढी छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् । सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके ।
सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते ।
मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् । यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याएपछि मेसी फेरि गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।