काठमाण्डू, ३१ असार– सन् २०२६ फिफा विश्वकपमा अर्जेन्टिना चर्चा र विवादको केन्द्रमा रहेको छ । जारी फिफा विश्वकपमा दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दैछन् । अर्जेन्टिना र इंग्ल्याण्डबिचको यस महाभिडन्त नेपाली समयअनुसार बिहीबार बिहान १२ः ४५ बजे (बुधबार मध्यराति) सुरु हुनेछ। यसबिच इन्टरनेटमा एक अभियान नै चलाइएको छ ।
अर्जेन्टिना हराउने। अहिले अर्जेन्टिनालाई विश्वकपबाट निष्कासन गर्नुपर्ने माग राख्दै ‘अर्जेन्टिनाआउट डट ओरजी’ नामक वेवसाइट संचालनमा ल्याइएको छ । यो समाचार तयार पार्दासम्म ९८ लाख ८६ हजारभन्दा बढी मानिसहरूले हस्ताक्षर गरिसकेका छन् ।
यो संख्या निरन्तर बढ्दै गइरहेको छ । वेवमा भनिएको छ, ‘फिफा र रेफ्रीहरू लियोनेल मेस्सी र अर्जेन्टिनाप्रति पक्षपाती छन् । विजेताको निर्णय भइसकेको बेला बाँकी विश्वले किन प्रतिस्पर्धा गर्ने ? अर्जेन्टिनालाई विश्वकपबाट बाहिर निकाल्नुहोस् र अरू सबैलाई उचित मौका दिनुहोस् ।’
यसका साथै, रेफ्रीहरूले अर्जेन्टिनाका पक्षमा बारम्बार एकपक्षीय निर्णय लिएको, कप्तान लियोनेल मेस्सीलाई विशेष संरक्षण दिइएको, भिएआरको प्रयोग अर्जेन्टिनाको अनुकूल हुने गरी मात्र गरिएको, शंकास्पद पेनाल्टी दिइएको र विपक्षी टोलीका स्पष्ट गोलहरूलाई गलत आधारमा खारेज गरिएको उल्लेख छ ।
याचिकाकर्ताहरूले अर्जेन्टिनाले खेलको गतिलाई अनावश्यक रूपमा ढिलो गरेको, ‘फेयर–प्ले’ को उल्लंघन भएको र फिफाको व्यावसायिक स्वार्थका लागि नतिजा प्रभावित पारिएको आरोप लगाएका छन् । उक्त साइटमा अहिले सम्मकै उत्कृष्ट खेलाडीमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलना पनि गरिएको छ। जसमा रोनाल्डो ठूलो मतान्तरले अघि छन् ।
अर्जेन्टिनाका म्यानेजर लियोनेल स्कालोनीले यी सबै आरोपहरूलाई आधारहीन भन्दै खारेज गर्दै आएका छन् । उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘भिएआर र आज हामीसँग भएको सबै आधुनिक प्रविधिको साथ, कसैलाई मद्दत गर्न असम्भव छ । खेलको समयमा हुने हरेक फाउल र निर्णयहरू प्रविधिको जाँचबाट गुज्रिन्छन् ।’