काठमाण्डू, ३१ असार– एमालेमा खुब चासोका साथ हेरिएको पुनगर्ठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन ।
गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो ।
थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल सदस्य सचिव रहेका छन । ‘कार्यदलको निर्णय अनुसार उपाध्यक्ष कमरेड र महासचिव कमरेड प्रतिवेदन लेख्न जुट्नु भएको छ,’ प्रचार विभाग प्रमुख निरज आचार्यले भने, ‘प्रतिवेदन तयार भएपछि पार्टीको थप कार्यक्रम बन्छ ।’
हिजोबाट लेख्न शुरु भएको प्रतिवेदन टुंग्याउन एक हप्ता लाग्ने अनुमान गरिएको छ । ‘असाध्यै धेरै सुझावहरु संकलन गरिएको छ । त्यसलाई व्यवस्थित तरिकाले निष्कर्ष निकाल्न अलिक समय लाग्छ नै,’ स्रोत भन्छ । स्रोतका अनुसार संकलित सुझावको ड्राफ्ट अध्यक्ष केपी शर्मा ओलीले एकपटक पढिसकेका छन् ।
ओलीले अध्ययन गरिसकेको ड्राफ्टलाई महासचिव पोखरेलले प्रतिवेदको ढाँचामा तयार पारिदैछ । मालेमा यो प्रतिवेदनलाई पार्टीको भावी कार्यदिशा तयार पार्ने दस्तावेजकै रुपमा लिइएको छ ।
‘प्रतिवेदनका आधारमा पार्टीको थप निर्णय गरिदैछ, त्यसअर्थमा यसलाई आम पंक्तिले चासोका साथ हेर्नु स्वभाविकै हो,’ एक पदाधिकारी भन्छन् ।