काठमाण्डू, ३१ असार– सन् १९६२ यता पहिलोपल्ट विश्वकप पुनः उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी हुने छन । ३९ वर्षीय मेसीको यो आफ्नो करियरको छैटौं विश्वकप हो, जहाँ उनी एकपल्ट विश्वकप उपाधि विजेताका सदस्य पनि भइसके ।
अहिले फेरि उनी लगातार दोस्रो विश्वकपनजिक छन । आठ गोल र दुइ असिस्ट गर्दै मेसीले यस विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा आफूलाई स्थापित गरी सकेका छन ।
उनी गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा रहेका छन । बार्सिलोनाबाट उदाएका तीव्र गतिका विंगरजस्तो भने अहिले मेसी देखिदैनन् । उमेरसँगै उनले आफ्नो खेल्ने शैलीलाई परिवर्तन गर्दै नयाँ भूमिका अपनाएका छन । उनी कम दौडिन्छन्, बढी खेल पढ्छन् र निर्णायक क्षणमा खेलको दिशा बदल्ने क्षमता मेसीले देखाइ रहेका छन ।
यस विश्वकपमा सबैभन्दा धेरै अवसर सिर्जना गर्ने र सबैभन्दा बढी प्रहार गर्ने खेलाडीमध्ये उनी स्थापित छन् । तथ्यांकले पनि मेसीको नयाँ शैलीलाई पुष्टि गर्छ । उनले मैदानमा कभरेज गरेको दूरीको झन्डै आधा भाग हिँडेरै पूरा गरेका छन् । प्रतिखेल स्प्रिन्टको संख्या पनि अघिल्ला विश्वकपको तुलनामा निकै घटेको छ तर उनको प्रभाव भने घटेको छैन ।
विश्वकपको पछिल्ला १५ खेलमध्ये पोल्यान्डविरुद्धको एक खेलबाहेक सबैमा उनले गोल गरेका वा असिस्ट गरेका छन । बार्सिलोनामा पेप ग्वार्डिओलाको आगमनसँगै मेसीको खेलजीवनमा ठूलो परिवर्तन थियो । सुरुआतमा दायाँ विंगमा खेल्ने उनी ग्वार्डिओलाको योजनाअनुसार ‘फल्स नाइन’ भूमिकामा रूपान्तरित भए ।
यस परिवर्तनले युरोपेली फुटबलको रणनीतिक सोच नै बदलिदियो । विपक्षी टोलीका रक्षकहरू उनलाई कसरी रोक्ने भन्ने अन्योलमा पर्थे । मेसीले त्यसको भरपूर फाइदा उठाए । जाभी र आन्द्रेस इनिएस्टाजस्ता मिडफिल्डरले क्लब छाडेपछि मेसीले फेरि आफूलाई परिवर्तन गरे ।
उनी गोलकर्ता मात्र नभई टोलीको मुख्य खेल निर्माता बने । त्यसपछि उनका असिस्टको संख्या उल्लेखनीय रूपमा बढ्यो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि त पहिलोपटक उनले गोलभन्दा बढी असिस्ट गर्ने खेलाडीको नयाँ परिचय बनाए । अर्जेन्टिनाको कप्तानका रूपमा भने उनको यात्रा सजिलो रहेन । २०१४ को विश्वकपसँगै २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा लगातार हार बेहोरेपछि उनी तीव्र आलोचनाको केन्द्रमा रहेका थिए । यही दबाबकै कारण उनले राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरे ।
पछि उनले त्यो निर्णय फिर्ता लिए । मेसी पुनः फर्किए र अझ परिपक्व नेतृत्व प्रस्तुत गरे । उनको पुनरागमन सानदार पनि रह्यो । करियरको उत्तरार्धमा मानिन थालेपछि उनले एकपछि अर्को सफलता अर्जेन्टिनालाई दिएका छन । सन् २०२१ को कोपा अमेरिका जितसँगै उनले अर्जेन्टिनाको लामो उपाधि खडेरी अन्त्य गराउन सफल भए । त्यसपछि २०२२ को विश्वकप जितेर उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई ऐतिहासिक उचाइमा पुर्याए । त्यस विश्वकपमा उनले गोल, असिस्ट र नेतृत्व तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मेसी स्वयम्ले पनि आधुनिक फुटबल पहिलेभन्दा धेरै रणनीतिक र शारीरिक भएको स्वीकार गरेका छ न्। त्यसैले अहिले उनी अनावश्यक दौडिनुभन्दा खेलको लय बुझ्ने, ऊर्जा जोगाउने र सही समयमा निर्णायक प्रभाव पार्ने शैलीमा खेलिरहेका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी पाब्लो आइमारले भनेझैं मेसीको पछिल्लो संस्करण नै सधैं उत्कृष्ट छ । किशोर विङ्गरदेखि विश्व फुटबललाई नयाँ रणनीति सिकाउने ‘फल्स नाइन’, त्यसपछि खेल निर्माण गर्ने ‘एन्गान्चे’ (ट्रडिसनल प्लेमेकिङ अट्याकिङ मिडफिल्डर) र अन्ततः विश्वकप विजेता कप्तानसम्मको यात्रामा मेसीले बारम्बार आफूलाई प्रमाणित गरेका छन । यही क्षमता नै उनलाई फुटबल इतिहासका सबैभन्दा महान् खेलाडीमध्ये एक बनाउने प्रमुख आधार बनेको छ । मेसी आफ्नो देशले खोजिरहेको वास्तविक कप्तान बनिसकेका छन् ।
अहिले उनी यस्तो अनुभवी खेलाडी बनेका छन्, जो मैदानमा धेरै दौडिँदैनन्, तर अरू सबैभन्दा पहिले खेलको चित्र देख्छन् । यस विश्वकपमा मेसीबारे धेरै विशेषण र प्रशंसाका शब्दहरू सुनिएका छन् । तर तीमध्ये अधिकांशले वास्तविक सारलाई समेट्न सकेका छैनन् । वास्तविक कुरा उनी कति महान् छन् भन्ने होइन ।