काठमाण्डू, ३१ असार– मिडिया हाउसहरू र केही नेताका घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर चालक सम्पर्कविहीन भएको घटनाबारे संसदीय छानबिनको माग उठेको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमार्फत घटनाको निष्पक्ष अनुसन्धान र संसदीय छानबिनको माग गरेकी छन ।
उनले भनेकी छन, ‘शंकास्पद रूपमा मिडियामा अवरोध गर्ने उद्देश्यले पार्किङ गरिएका गाडीहरू कुनै अनुसन्धान नगरी दशी–प्रमाण फिर्ता गर्नुले यस विषयमा प्रहरीसमेत जोडिएको देखिन्छ, ‘मिडियाको मुख थुन्न गरिएको सरकारी हर्कतबारे संसदीय छानबिन आवश्यक छ । दोषीलाई कारबाही गरियोस् ।’
सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया समूहका कार्यालयअगाडि एकै समयमा उस्तै शैलीमा गाडी पार्किङ गरिएको थियो । घटनालाई शंकास्पद ठानेपछि सम्बन्धित सञ्चारगृहहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर गाडीधनीको खोजी गरी सवारी उठाएर लगेको थियो ।
तर कसले र किन यस्तो गर्यो भन्ने विषयमा अहिलेसम्म प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन । बरु ती सवारीधनीलाई पाँच सय रुपैयाँ जरिबाना तिराएर छाडिएको छ । जबकि, सञ्चारगृहअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी उठाउन प्रयोग गरिएको क्रेनको भाडा भने ८ हजारदेखि १०–१२ हजार रुपैयाँसम्म तिरिएको थियो ।
कान्तिपुर अगाडि पार्किङ गरिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ । यो विषय संसदमा पनि उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदले समेत घटनाको छानबिन गर्न माग गरेका छन् ।
यद्यपि, रास्वपाका केही सांसदले भने यस घटनामा सरकारको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विषय उठेको थियो ।