विराटनगर- गाँजा बोकेको आशंकामा प्रहरीले लखेटेपछि पोखरीमा हामफालेर बेपत्ता भएका विराटनगरका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेपछि शुक्रबार विराटनगरको भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ ।
घटनापछि स्थानीयले प्रहरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहान करिब १०:३० बजे पोखरीको बीच भागमा शव तैरिरहेको अवस्थामा देखिएपछि निकालिएको थियो ।
मञ्जित बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भएर जाँदै गर्दा प्रहरीले चेकजाँचका लागि रोकेको थियो ।
प्रहरीका अनुसार चेकजाँचबाट बच्न उनी मोटरसाइकल छाडेर भागेका थिए र भाग्ने क्रममा नजिकैको पोखरीमा हामफालेपछि बेपत्ता भएका थिए ।
सोही घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मञ्जित बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए ।
शुक्रबार शव फेला परेपछि पोस्टमार्टमका लागि कोशी अस्पताल लैजान खोज्दा मृतकका आफन्त र स्थानीयले विरोध जनाएका थिए ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, किशोरलाई लखेट्ने प्रहरीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव उठाउन नदिने अडान लिएका थिए ।
प्रदर्शनका क्रममा सडक अवरुद्ध गरिएको थियो ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो ।
सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि प्रहरीले मृतकका आफन्त पर्ने एक युवकलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ
।