गणेश नेपालीका परिवारलाई रोजगारी, सन्ततिलाई निःशुल्क शिक्षा दिने महानगरको घोषणा

काठमाण्डु टुडे २०८३ असार २६ गते २३:३२ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिकाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

महानगरले परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाएको छ ।

शुक्रबार राति जारी विज्ञप्तिमा महानगरले यस सम्बन्धमा कार्यपालिका बैठकबाट विधिसम्मत् निर्णय गरिने उल्लेख गरेको छ ।
महानगरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने जनाएको छ ।

छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्ने, समाधानका विकल्प खोज्ने तथा असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान महानगर प्रतिबद्ध रहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us