सांसदहरूलाई गृहमन्त्रीको चेतावनीः गणेश नेपालीको घटनामा राजनीति नगर्नू

काठमाण्डु टुडे २०८३ असार २६ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, २६ असार– मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका क्रममा गृहमन्त्री गुरुङले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ?

यो दिन आएको हो सदनमा ?’ उनले प्रश्न गरे । उनले सदनको गरिमा राखिराख्न समेत अनुरोध गरे । नेपाली जनताले धेरै आशा यो पटक गरेको भन्दै ‘एउटौ डुंगामा सवार’ गर्न विपक्षी सांसदहरूलाई आग्रह गरे । उनले कसैको पीडालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे । ‘हामीले अथक प्रयास गरेकै हो ।

श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भनेका छन्, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’

उनले सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताए । ‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं । पूरै गर्छौं ।

नचाहँदा नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न,’ गृहमन्त्री गुरुङले भने, ‘म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो । मलाई ढाँट्न आउँदैन । यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु । म यसरी ढाँट्न मन लाग्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us