कांग्रेसले भन्योः संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो

काठमाण्डु टुडे २०८३ असार २५ गते १६:३० मा प्रकाशित

काठमाण्डू, २५ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् ।

आज (बिहिबार) ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।

उनले भने, ‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो, ‘त्यसैले हामीले वैशाखदेखि नै आफ्नो संविधान संशोधनको छलफल गर्नथाल्यौं, आफ्नैभित्र, अरुसँग । तर, हामीले त्यहाँ प्रतिनिधि पठाएनौं ।’

संविधान संशोधनका विषयमा सुरुदेखि नै कांग्रेसले दुई वटा प्रस्ताव राख्दैआएको उनले बताए । ‘हामीले के भनेका छौँ भने संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश, विज्ञहरू सम्मिलित भएको एउटा समिति बनाएर प्रारम्भ गर्नसक्छौं ।

वा अहिले हामी संसद्मा छौं, संसद् छ । संसद्भित्रैबाट पनि समिति बनाएर जान सक्दछौं,’ सभापति थापाले भने । यी दुई वटा विकल्पले मात्रै संविधान संशोधनको गम्भीरतालाई प्रष्ट बनाउने उनले दाबी गरे । प्रक्रियागत रूपमा पनि संविधान संशोधनका प्राथमिकता निर्धारण हुनुपर्ने कांग्रेसको धारणा रहेको पनि उनले बताएका छन । पहिलो चरणमा संविधानले नै १० वर्षमा पुनरावलोकन गर्नुपर्ने कुरा औँल्याएका विषयमा संशोधन हुनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘त्यसपछि विश्वासको वातावरण बन्दैजान्छ, अनि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता जस्ता विषयमा जहाँ केही संशोधनका आवश्यकताहरू छन् ।

ती कुरामा प्रवेश गर्ने कुरा उपयुक्त हुन्छ भन्ने कुरा ठान्दछौं ।’ एकैचोटि खोल्दिने हो भने नेपाल अझ ठूलो आगोको भुंग्रोमा फस्ने समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us