राहदानी विभागको गेटमा आत्मदाह प्रयास गर्नुअघि महानगर प्रहरीले गरेको थियो बाइकमा ह्वीललक

काठमाण्डु टुडे २०८३ असार २५ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह गरेका व्यक्तिको पहिचान खुलेको छ ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी पवन कुमार भट्टराईका अनुसार, उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए ।

उनले भने, ‘उहाँले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्विल लक गरेको सम्म थाहा भयो, उहाँले त्यही कारणले आत्मदाह प्रयास गर्नुभयो वा अन्य भन्ने चाहीँ बुझ्ने क्रममा छौं ।’

प्रहरीका अनुसार, उनी हल्का बोल्नसक्ने अवस्थामा छन् । करिब ६५ प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । आत्मदाह प्रयास गर्नुको कारण पनि नखुलेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us